संक्षिप्त परिचय
कर्णाली प्रदेशको सदरमुकामको रुपमा रहेको सुर्खेत जिल्ला नेपालका ७७ जिल्ला मध्यको एक भित्रि मधेशको जिल्ला हो । यो जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ । नेपाल र साविक मध्यपश्चिमान्चल विकास क्षेत्रको क्रमश: १.७ र ५.८ प्रतिशत भू-भाग ओगटेको सुर्खेतमा पहाड र तराईको मिश्रित खालको धरातिलय बनोट र हावापानी देख्न सकिन्छ । यो जिल्लाको पुर्व-पश्चिम अधिकतम लम्बाई ११५ कि.मि. र उत्तर-दक्षिण अधिकतम चौडाई ३७ कि.मि. रहेको छ । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्गनर हो । वीरेन्द्गनर नगरपालिकाको सदरमुकामको रुपमा स्थापना वि.स.२०३३ साल मा भएको थियो । नेपालको राजधानी देखि लगभग ६०० कि.मी. उत्तर पश्चिममा र समुन्द्री सतह देखि लगभग ६६५ मी. उचाईमा अवस्थित यो न.पा.को उत्तरमा महाभारत पर्बतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुदर पहाडले घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मि हुने सुन्दर उपत्यका हो । हाल १६ वटा वडामा विभाजित वीरेन्द्गनर नगरपालिका नेपालका ३६ वटा पुराना न.पा.मध्ये एक हो । बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.स. २०१६ साल अघि दैलेख जिल्ला अन्तरगत रहेको थियो । नेपाल राज्यलाई १४ अचल ७५ जिल्लाको प्रशासिनक विभाजन पश्चात १७ वटा तत्कालीन गाँउ पंचायत र यसको जम्मा क्षेत्रफल ९५४ बर्गमिल रहने गरि घोषणा गरिएको यस जिल्लाको समय-समयमा सिमाना थपघट हुदै हाल यसको जम्मा क्षेत्रफल २,४५१ वर्ग कि. मी. रहेको छ भने ४ वटा गाँउपालिका र ५ वटा नगरपालिकाहरु रहेका छन् । यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन् । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्बत पर्दछन् भने कही बेसी कही पहाडी क्षेत्र रहेको यसको पूर्बमा साविक मालारानी गा.वि.स. हाल सिम्ता गाउँपालिका देखी पश्चिम साविक लगाम हाल चौकुने गाउँपालिकासम्म लम्बिएको यसको भु-वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ । यस जिल्लाको पुरानो नाम दोभानचौर हो ।